सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पनि दादुरा–रुबेला खोप अभियान सञ्चालनको तयारी पुरा गरेको छ ।
लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रबि कुमार भाष्करले जानकारी दिए ।
१३ फागुनदेखि १७ गतेसम्म जीतपुरसिमराका २४ वटै वडामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान सुरु गरिने भएको छ ।
अभियानमा १५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।
उनले खोप अभियानको अवधिमा जीतपुरसिमरामा बिभिन्न खोप केन्द्रमार्फत करिब ४० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको बताए ।
यसका लागि उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १३७ जना स्वयंसेविका परिचालन गरिनेछ ।
जीतपुरसिमराको प्रतयेक वडामा ५ दिन खोप लगाउने अभियान संचालन हुनेछ । उपमहानगरले वडा स्तरिय खोप समन्वय समिति नै गठन गरेर वडाले तोकेको ठाउँमा खोप लगाउने उपमहानगरले जनाएको छ ।
दादुरा रुबेला खोप बारे जीतपुरसिमरामा ब्यापक प्रचारप्रसार गर्ने उदेश्यले शुक्रबार उपमहानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाले संचारकर्मीहरुसंग अभिमुखीकरण गोष्ठी समेत गरेको छ । नगर भित्रका हरेक घरमा महिला स्वयमसेवीका परिचालन गरेर निमन्त्रणा कार्ड समेत पुर्याइने भएको छ ।
जिल्लाका बिभिन्न पालीकाहरुमा यो खोप चरणबद्ध रुपमा लगाइदैछ । पहिलो चरण अनुरुप फागुन १३ गतेदेखी नै जितपुरसिमराले खोप अभियान सूरु गर्ने तयारी पुरा गरेको छ ।
Write your Comment