काठमाण्डौं :
विश्व किसान संगठन (डब्लु एफ ओ) को सञ्चालकमा नेपालबाट खेम बहादुर पाठक निर्वाचित हुनुभएको छ । संगठनको मुख्यालय इटालीको रोममा बुधबार सम्पन्न भएको विश्व भरका किसान प्रतिनीधिहरुको अधिवेसनबाट पाठक संगठनको सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनु भएका पाठकले एसिया प्रशान्तको प्रतिनिधित्व गर्नु हुने छ ।
पाठक सहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरका ६ जना निर्वाचित भएका छन् ।
विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुनुहुन्छ ।
किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष एकराज उप्रेतीले बताउनु भयो ।
पाठक सहकारीका माध्यमबाट लामो समय देखी गरिबी निवारण, साना किसानको समृद्धि, महिला नेतृत्वको विकास, साना किसान अभियान मार्फत ग्रामीण अर्थतन्त्र सुधारमा निरन्तर सक्रिय हुनुहुन्छ ।
संगठनको माहासभाबाट उहाँ निर्वाचित भएसँगै नेपालको समग्र सहकारी अभियान र साना किसान विकास कार्यक्रमका लागि निकै महत्वपूर्ण अवसर प्राप्त भएको उपाध्यक्ष उप्रेतीले बताउनु भयो ।
Write your Comment