पोखरा– पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोबद्र्धन पोखरामा सम्मानित भएकी छन् । उनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् । आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरे । महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।
कास्की जिल्ला तेक्वान्दो संघले ५१ हजार रुपैयाँ प्रदान गर्दै पलेशालाई सम्मान गरेको छ । संघले प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ । पारा ओलम्पिकमा पलेशाले महिला ५७ केजीमुनिको विधामा ऐतिहासिक कास्य पदक हात पारेकी थिइन् । यसअघि उनलाई सरकारले सम्मान गरेको थियो । काठमाडौं महानगरपालिद्वारा उनी सम्मानित भएकी छन् ।
Write your Comment