काठमाडौं । हालैको बाढी–पहिरोबाट क्षति भएका व्यक्तिगत आवासहरूको पुनर्निर्माण प्रदेश सरकार मातहत गरिने भएको छ। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकारसँगको भेटमा यस्तो जानकारी दिएका हुन्।
मन्त्री खरेलका अनुसार व्यक्तिगत आवास पुनर्निर्माणका लागि प्रदेश सरकार नेतृत्वमा काम अघि बढाइनेछ भने संघीय र स्थानीय सरकारले आवश्यक सहयोग गर्नेछन्। उनले भने, “व्यक्तिगत आवासहरूको पुनर्निर्माण प्रदेशमार्फत गरिने भएको छ। यसमा संघीय र स्थानीय सरकारले प्रदेशलाई सहयोग गर्नेछन्।”
सरकारले पहिलो चरणमा राहत वितरण स्थानीय तहमार्फत गर्ने तयारी गरेको पनि मन्त्री खरेलले जानकारी दिए।
त्यस्तै, बाढी र पहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको उनले बताए। “मेची राजमार्ग एक हप्ताभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याइनेछ। बीपी राजमार्ग दुई–तीन दिनभित्र सञ्चालनमा आउने गरी काम भइरहेको छ,” मन्त्री खरेलको भनाइ छ।
उनका अनुसार हालसम्म बाढी–पहिरोबाट ५२ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्। ४८ जना घाइते भएका छन् र चार हजारभन्दा बढीलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्।
Write your Comment