कोशी प्रदेशबाट बाढी–पहिरो पीडितका लागि व्यापक राहत पठाइँदै

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
५४ पाठक संख्या


काठमाडौं । हालैको बाढी–पहिरोबाट प्रभावित क्षेत्रहरूमा कोशी प्रदेश सरकारले तीव्र गतिमा राहत सामग्री पठाउने कार्य सुरु गरेको छ। हेलिकप्टर र सवारी साधनमार्फत हिजो सामग्री पुर्‍याइसकेको प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी राहत सामग्री माइजोगमाई, माई, इलाम नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको जनाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्री प्रभावित क्षेत्रमा तत्काल पठाइएको बताए। उनका अनुसार प्रदेश सरकार राहत वितरणलाई तीव्र र व्यवस्थित बनाउन पूर्ण रूपमा सक्रिय छ।

यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत वितरण र पुनर्निर्माण कार्यलाई समन्वयित गर्न सरकारी संयन्त्रको बैठक बोलाएका थिए। उनले मृतकका परिवारलाई राहत रकम र अत्यावश्यक सामग्री उपलब्ध गराउने कार्य निरन्तर चल्ने बताए।

मुख्यमन्त्री कार्कीले भत्किएका सडक र अन्य संरचनाहरू पुनःनिर्माण गर्न पनि तयारी सुरु गरिएको उल्लेख गरे। उनका अनुसार प्रदेश सरकारका मन्त्रीहरू विभिन्न जिल्लामा खटिएर राहत, उद्धार र पुनर्निर्माणमा प्रत्यक्ष संलग्न भएका छन्।

Write your Comment





suv prannath