राष्ट्रिय मानव अधिकार आयोगद्वारा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
४४ पाठक संख्या


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशभर भइरहेका राजनीतिक गतिविधि र प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार र सबै पक्षलाई आग्रह गरेको छ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएका घटनाबाट उत्पन्न परिस्थितिमा विधिको शासन र शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको हो। आयोगले सरकारलाई सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमताका साथ आवश्यक कदम चाल्न निर्देशनसमेत दिएको छ।

आयोगले सो घटनाका क्रममा मानव अधिकार उल्लंघन भएको उल्लेख गर्दै त्यसबाट नागरिकको जीवन, सुरक्षा र अधिकारमा नकारात्मक प्रभाव परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

त्यस्तै, आगामी दिनमा हुन सक्ने प्रदर्शनहरूलाई मर्यादित र संयमित बनाउन आयोगले राजनीतिक दल र समूहहरूलाई आह्वान गरेको छ। आयोगको भनाइ छ, “अरूप्रति घृणा र हिंसा फैलाउने अभिव्यक्ति बन्द गरी सामाजिक सद्भाव कायम राख्नुपर्छ।”

साथै, आयोगले जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत मात्र दीर्घकालीन राजनीतिक निकास सम्भव हुने बताउँदै सबै पक्षलाई लोकतान्त्रिक मूल्य र मानव अधिकारको सम्मानका साथ अघि बढ्न आग्रह गरेको छ।

Write your Comment





suv prannath