सिंहदरबार जल्दा ‘विजयी पोज’मा फोटो पोस्ट गरेकी जेनजी अभियन्ता रक्षा बमको स्वीकारोक्ति : ‘खुसी भएको महसुस थियो, कारबाही भोग्न तयार छु’

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
५४ पाठक संख्या


काठमाडौं । चर्चित जेनजी अभियन्ता रक्षा बमले गत भदौ २४ गते सिंहदरबार जलिरहेको बेला अगाडि बसेर खुसी मनाएको स्वीकार गरेकी छन्। उनी जलिरहेको सिंहदरबारको पश्चिम गेट अगाडि ‘विजयी पोज’मा खिचिएको तस्बिर स्वयम्‌ले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्।

तस्बिरमा बम दुवै हात माथि उठाएर मुस्कुराइरहेकी देखिन्छिन् भने पछाडिबाट धुवाँको बाक्लो मुस्लो उडिरहेको छ। तस्बिरको क्याप्सनमा उनले लेखेकी थिइन्– ‘हाम्रो खुन बगाइस्, देखिस् तेरो पतन !’

उक्त तस्बिर सार्वजनिक भएपछि बम विवादमा तानिएकी थिइन्। त्यसपछि उनले हिजो एक भिडिओ सन्देशमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै सिंहदरबार जल्दा खुसी महसुस भएको स्वीकार गरेकी हुन्। उनले भनिन्, “सेप्टेम्बर ८ मा हामीसँग भएको व्यवहारको आक्रोशमा म सडकमा उत्रिएकी थिएँ। प्रधानमन्त्रीको राजीनामा आएको थियो, र म निकै आक्रोशित थिएँ। सिंहदरबार राज्यको प्रतीक भएकाले ‘हामीले जित्यौँ’ भन्ने भावनामा त्यो फोटो राखेकी थिएँ।”

आफूले गरेको कार्यलाई भावनात्मक प्रतिक्रियाको रूपमा वर्णन गर्दै बमले भनिन्, “त्यो बेला सिंहदरबार जलिरहेको थियो, म आक्रोशित थिएँ। एक किसिमको जितजस्तो महसुस भएर मैले फोटो राखेकी हुँ।”

उनले थपिन्, “यदि यसलाई राजनीतिक दृष्टिकोणले हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ, गोली चलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ। म के भन्न चाहन्छु भने — फौजदारी अभियोग लाग्ने कसुरमा कारबाही गर्न सरकार तयार हुनुपर्छ। सुरुवात मबाटै हुनुपर्ने हो भने म पनि तयार छु।”

सिंहदरबारमा आगलागी भएको दिन देशभरि व्यापक विरोध प्रदर्शन भइरहेका थिए। आन्दोलनका क्रममा सरकारी प्रतीकात्मक संरचनामा आक्रमण र आगजनीका घटना भएका थिए। बमको तस्बिरले त्यस आन्दोलनको भावनात्मक र प्रतीकात्मक पक्षबारे फेरि बहस सुरु गरेको छ।

सो घटनापछि सामाजिक सञ्जालमा बमको फोटो र भनाइबारे समर्थन र आलोचना दुबै देखिएको छ। केहीले उनीमाथि अभिव्यक्तिको जिम्मेवारीबारे प्रश्न उठाएका छन् भने केहीले आन्दोलनको पृष्ठभूमि बुझ्न आवश्यक रहेको बताउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

सरकार र सुरक्षा निकायले यसबारे हालसम्म आधिकारिक प्रतिक्रिया नदिएका भए पनि विषयले राजनीतिक वृत्तमा नयाँ बहस उत्पन्न गरेको छ।

Write your Comment





suv prannath