ठेक्का पारेर काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण कम्पनी ठेक्दरलाई कारवाहीको तयारी

रातोघर

 २०८२ कार्तिक १४, शुक्रबार  मा प्रकाशित
९९ पाठक संख्या


जितपुरसिमरा । सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि जितपुरसिमरा उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्यतालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि ठेकेदारहरूले समयमै काम अघि बढाउन असफल भएकाले कानूनी प्रावधानअनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो। उनले भने, “यदि तोकिएको म्यादभित्र पनि काम सुरु नगरे सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुसार जरिवाना, धरौटी जफत लगायतका कडा कदम चालिनेछ।”

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार, N.K. Construction Pvt. Ltd., पर्सा ले वडा नं. ७ मा निर्माणाधीन फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा प्रगति नदेखाएपछि कारबाहीको दायरामा परेको छ। D & D Construction, बारा ले वडा नं. ५ र ७ जोड्ने २०० सैया अस्पताल अगाडिको कल्भर्ट निर्माण कार्य सुरु नगरेको पाइएको छ।

त्यस्तै, Dhiraj Nirman Sewa, रौतहट ले वडा नं. १० को बलुवा–बेहरा सडक कालोपत्रे कार्य सुरु नगरेको, Shree Bajrang Construction, बारा ले वडा नं. २४ मा पर्खाल निर्माणमा ढिलाइ गरेको, र Jasauli Nirman Sewa, पर्सा ले इनर्वासिरा (वडा नं. १९) मा ट्र्याक खोल्ने तथा ढलान कार्य स्थगित राखेको जनाइएको छ।

यस्तै, Makawanpur Construction Pvt. Ltd. ले बजनी वडा कार्यालयतर्फ जाने सडक कालोपत्रे कार्य (वडा नं. ३) सुरु नगरेको र Jai Shambhu BholeNath Construction, मकवानपुर ले वडा नं. २२ मा चकरी जाने बाटो कालोपत्रे कार्यमा लापरबाही गरेको पाइएको छ।

नगर प्रमुख राजन पौडेल ले विकास योजनामा ढिलासुस्ती र लापरबाही कुनै हालतमा सह्य नहुने चेतावनी दिएका छन्। उनका अनुसार, “सम्झौतामा हस्ताक्षर गरेर पनि काम नगर्ने ठेकेदार कम्पनीहरूले नगरको विकास अवरुद्ध पारिरहेका छन्। अब यस्ता कम्पनीहरूलाई कुनै प्रकारको छुट दिइने छैन।”

उपमहानगरपालिकाले आगामी दिनमा पनि विकास कार्यमा ढिलाइ गर्ने ठेकेदार कम्पनीहरूको नाम सार्वजनिक गर्दै आवश्यक कानूनी कारबाही निरन्तर गरिने जनाएको छ।

Write your Comment





suv prannath